Section 15A
कोष कट्टा रकम फिर्ता पाउने
(१) कर्मचारीको खातामा जम्मा रहेको साँवा ब्याज समेतको सम्पूर्ण रकम जुनसुकै कारणले सेवाबाट हटे पनि निजले तुरून्त एकमुष्ट फिर्ता पाउनेछ । त्यस्तो कर्मचारीको मृत्यु भैसकेको भए निजले इच्छाएको व्यक्तिले इच्छाइए बमोजिमको रकम पाउनेछ र निजले कसैलाई इच्छाएको नभएमा वा इच्छाइएको व्यक्तिको पनि इच्छाउने व्यक्तिको मृत्यु हुनु भन्दा पहिले नै मृत्यु भैसकेको रहेछ भने सो रकम अपुताली सम्बन्धी प्रचलित कानून बमोजिमको हकवालाले पाउनेछ ।
(१क) उपदफा (१) को प्रयोजनको निमित्त कर्मचारीले कुनै पनि व्यक्तिलाई इच्छाउन सक्नेछ । यसरी कर्मचारीले कुनै व्यक्तिलाई इच्छाउँदा इच्छाउने तरिका कोषले तोके बमोजिम हुनेछ ।
(२) कर्मचारीले इच्छाएको व्यक्तिको मृत्यु भएमा वा निजको मृत्यु नभएपनि कर्मचारीले चाहेमा निजको सट्टा अर्को व्यक्तिलाई इच्छाउन वा इच्छाएको बेहोरामा हेरफेर गर्न सक्नेछ ।
(३) कर्मचारीको सेवा टुटेपछि निजले सेवा टुटेको मितिले तीन वर्षसम्म पनि कोषको रकम फिर्ता लिन नआएमा वा सो फिर्ता लिने सम्बन्धमा कुनै सूचना कोषलाई नदिएमा निजको कोषको रकम निजले इच्छाएको व्यक्तिले पाउने छ । इच्छाएको व्यक्तिले पनि सो रकम निजले पाउन सक्ने मितिले २ वर्ष ९ महिनासम्म लिन नआएमा कोषले सर्वसाधारणको जनाकारीमा आउने गरी सूचना निकाल्ने व्यवस्था गर्नेछ । सूचना निस्केको तीन महिनाभित्र पनि इच्छाएको व्यक्तिले लिन नआएमा सो रकम अपुताली सम्बन्धी प्रचलित कानून बमोजिमको हकवालाले पाउनेछ ।
(३क) दफा १५ को उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भएतापनि संचित रकम फिर्ता पाउन सक्ने अवस्था भएको शुरू मितिले ६ वर्ष सम्ममा पनि त्यस्तो रकम फिर्ता पाउने हक पुगेको व्यक्तिले फिर्ता लिन नआएमा सो रकम छुटै खातामा जम्मा गरिनेछ र त्यसरी छुट्टै खातामा जम्मा गरी सकेपछि सो रकममा ब्याज दिइनेछैन ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कर्मचारीले कोषबाट लिएको साँवा ब्याजको भुक्तानी गर्न बाँकी रकम …………………. कोषले कटाई लिनेछ ।